यदि केहि गरी आफ्नो सवारी चालक अनुमतीपत्र हराएमा... 1. सम्बन्धित ट्राफिक कार्यालयबाट सवारी चालक अनुमतीपत्र हराएको हो भनि दिएको सिफारिस पत्र । 2. सक्ककल नागरिकता सहित सम्बन्धित व्यक्ति आफै कार्यालयको सवारी चालक अनुमतीपत्र शाखा कोठा नं. 08 मा उपस्थित भई प्रतिलिपीको लागि निवेदन पेश गर्ने । म्याद सकिएको हकमा भने प्रतिलिपी सहित नविकरणको समेत निवेदन पेश गर्ने ।
कुनै एक वर्गको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले अर्को वर्ग थप गर्न चाहेमा विभागको अनलाईन सिस्टमबाट थप गर्न चाहेको वर्ग थप गरेको फाराम, निरोगिताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यताप्राप्त चिकित्सकले नियमावलीको अनुसूची–१८ बमोजिमको ढाँचामा प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र र सक्ककल सवारी चालक अनुमतीपत्र वा सक्कल नागरिकता सहित कार्यालयमा दरखास्त दिई प्रयोगात्मक परीक्षा दिनुपर्नेछ ।
सवारी चालक अनुमतिपत्रको कुनै अभिलेख वा विवरणमा केही छुट भएको वा थप गर्नुपर्ने वा गल्ती भएको भए सवारी चालक अनुमतिपत्र जारी गर्ने सम्बन्धित कार्यालयमा संवन्धित व्यक्ति आफैं त्यस्तो सच्याउनुपर्ने व्यहोराको पुष्टयाइ सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ । सम्बन्धित कार्यालयले प्राप्त निवेदन हेरी अभिलेख थप गर्न वा सच्चाउन सकिनेछ ।
हाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र पनि अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लिई यस्तो चालक अनुमतिपत्र नवीकरण गरिनेछ । यस्तो नवीकरण पाँच वर्ष लागि कायम रहनेछ । पाँच वर्षम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्द हुनेछ र यस्तो अनुमतिपत्रको नवीकरण गरिने छैन । सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागी रु ३०००/-¸ मझौला सवारीका लागी रु २५००/-¸ मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागी रु २०००/- र मोटरसाइकल, स्कुटरका लागी रु १५००/- लाग्नेछ ।तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्नेछ ।